काठमाडौं । दक्षिण अफ्रिकालगायत अफ्रिकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी यस्तो निर्णय गरेको हो ।
कूटनीतिक, सरकारी औपचारिक र आपत्कालीन कामबाहेक अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाउन अध्यागमन विभागलाई आदेश दिइएको गृहका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।
अध्यागमन विभागले आइतबारदेखि नै निर्णय कार्यान्वयन गरिसकेको जनाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल र भारतीय सीमानाकामा पनि सोहीअनुसार गर्न निर्देशन दिइएको बताए ।
“अहिलेलाई अस्थायी रूपमा गृहको निर्णय कार्यान्वयनमा ल्याइएको छ । आजकोे सीसीएमसीसी बैठकले के निर्णय गर्छ, सोहीअनुसार अन्य कदम चालिनेछ,” महानिर्देशक भट्टराइले भने ।
उनका अनुसार दक्षिण अफ्रिकी मुलुकहरूबाट ती देशका नागरिकलाई प्रवेश रोक लगाए पनि नेपाली नागरिकलाई भने आउन दिइनेछ । उनीहरूलाई विमानस्थालमा नै स्वास्थ्य जाँच गरी होटेल क्वारेन्टिनमा राखिनेछ ।
त्यसैगरी, कूटनीतिक, सरकारी औपचारिक र आपत्कालीन कामका लागि आउने व्यक्तिले पनि सरकारले तोकेका होटेलमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-