नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाइ उडान सम्झौता गर्न प्रस्ताव गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग रुवाण्डाका गैर आवासीय राजदूत जेक्युलिनी मुकाङ्गिराले यस्तो प्रस्ताव गरेकी हुन्।
आलेसँग आज मन्त्रालयमा भएको भेटका क्रममा राजदूत मुकाङ्गिराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाइ सम्झौता नभएको बताइन्। भेटका क्रममा राजदूत मुकाङ्गिराले नेपाल र रुवाण्डाबीच हवाइ सम्झौता गर्नसके पर्यटक प्रवद्र्धनमा फाइदा हुने उनको भनाइ थियो।
‘रुवाण्डाका पर्यटक भित्रयाउनका लागि भएपनि नेपाल र रुवाण्डाबीच हवाइ सम्झौता गर्न आवश्यक छ, उक्त सम्झौताले दुइ देश मित्रता पनि थप कायम हुने छ’ उनले भनिन्।
सोही क्रममा राजदूत मुकाङ्गिराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुई पक्षीय सहयोग आदान प्रदान गर्न आग्रह गरिन्। उनको प्रस्ताव मन्त्री आलेले सकारात्मक रुपमा लिएको बताए। उनले औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अगाडि बढाइने उल्लेख गरे। ‘सम्झौता प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ। औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडी बढाउने छौँ,’ मन्त्री आलेले भने।
प्रतिक्रिया लेख्नुहोस्:-