काठमाडौं। विश्वका सबैभन्दा शक्तिशाली नेताहरुमध्येका एक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १९९० को दशकमा मस्कोको सडकमा ट्याक्सी चलाउँथे । उनले आफ्नो खराब आर्थिक अवस्थाका कारण आफ्ू ट्याक्सी चलाउन बाध्य भएको खुलासा गरेका छन् । पुटिनले आफ्नो खराब आर्थिक अवस्थाबारे खुलासा गर्दै सोभियत संघको विघटनपछि खर्च चलाउनकै लागि आफू ट्याक्सी चलाउन बाध्य भएको बताए ।
बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार एक डकुमेन्ट्रीमा राष्ट्रपति पुटिनले आफ्नो संघर्षका दिनहरुबारे कुरा गर्दै सोभियत संघको पतनपछि आफूले आफ्नो दैनिक आवश्यकता पूरा गर्नको लागि ट्याक्सी समेत चलाएको बताएका छन् । पुटिनले भनेका छन् ‘कहिलेकाहीँ मैले अतिरिक्त पैसा कमाउनु पर्थ्यो । इमान्दारीसाथ भनौं भने यसबारेमा कुरा गर्नु सुखद त होइन तर दुर्भाग्यले यही सत्य हो ।’
१९९० को दशकको सुरुवातमा सोभियत संघको पतनपछि यसले देशभरी आर्थिक कठिनाइ उत्पन्न गरेको थियो । यसबाट कैयौं रुसीहरुले जीविकोपार्जनको लागि नयाँ र वैकल्पिक तरिकाको खोजी गर्न बाध्य हुनुपरेको थियो । डकुमेन्ट्रीमा पुटिनले सोभियत संघको विघटनलाई ऐतिहासिक रुसको पतनको रुपमा वर्णन गरेका छन् ।
पुटिनको यो टिप्पणी रुस र युक्रेनको बीचमा जारी तनावका बीच आएको छ । यस्तोमा उनको यो टिप्पणीले युक्रेनप्रति उनको सोचको बारेमा थप अड्कलबाजीलाई बढावा दिन सक्छ । युक्रेन सोभियत संघकै हिस्सा थियो र सोभियत संघ विघटन भएपछि युक्रेन छुट्टै देश बनेको थियो ।
विगत केही समयदेखि रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक तैनाथ गरेर राखेको छ । यही कारण अमेरिका सहित कैयौं पश्चिमी देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका गरिरहेका छन् । पश्चिमी देशहरुले यस विषयमा रुसलाई चेतावनी पनि दिएका छन् जसका कारण पश्चिमी देश र युरोपबीच पनि तनाव बढेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-