उत्तर कोरियाका पूर्वशासक किम जोङ–इलको १०औं पुण्यतिथिको अवसर पारेर देशमा जनतालाई ११ दिनसम्म हाँस्न प्रतिबन्ध लगाइएको छ । रेडियो फ्री एसियाले दिएको खबरअनुसार, पुण्यतिथिको बेलामा यस्तो प्रतिबन्ध पहिले पनि लगाइने गरेको थियो तर अहिले एक दशक पुगेको अवसरमा प्रतिबन्धलाई केही दिन बढी लम्ब्याइएको हो ।
जोङ–इलको मृत्यु डिसेम्बर १७, २०११ मा भएको थियो । शोक मनाइने यस घडीमा उत्तर कोरियालीहरूलाई रक्सी पिउन पनि मनाही गरिएको छ । देशको उत्तरपूर्वी शहर सिनुइजुका एक निवासीले बताए, ‘शोक मनाउने समयमा हामीले रक्सी पिउने, हाँस्ने र मनोरञ्जन गर्ने कुनै काम पनि गर्न हुँदैन । मानिसलाई खाद्यान्न किन्न जान समेत दिइएको छैन ।’
शोक अवधिभरि मानिसहरूले जन्मदिन मनाउन पाउँदैनन् र आफ्नो परिवारको कोही मानिस मरेमा पनि चिच्याएर रुन पाउँदैनन् । सन् १९९४ मा सर्वोच्च शासक बनेका जोङ–इलले सन् २०११ मा मृत्यु नहुन्जेलसम्म शासन चलाएका थिए । उनको पालामा उत्तर कोरिया आफ्नो इतिहासको सबभन्दा कालो समयबाट गुज्रिएको थियो । सन् १९९४ देखि १९९८ सम्म चलेको भोकमरीमा परी देशका लाखौं मानिसको ज्यान गएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-