काठमाढौं। सुपरस्टार रजनीकान्तको १२ डिसेम्बर ७१ औं जनमदिन थियो । रजनी जति गजबका सुपरस्टार छन् उत्तिकै गजबका उनका फ्यान छन् । उनका फ्यान त गजब मात्र होइन विचित्र नै छन् । आम रुपमा सुपरस्टारको चर्चा हुन्छ । तर, रजनी यस्ता स्टार हुन् कि उनको मात्र होइन उनका फ्यानहरुको समेत ठूलो चर्चा हुन्छ । रजनीका फ्यानका केही गजबका कामहरु अहिलेसम्म पनि चर्चित छन् ।
सुपरस्टार रजनीकान्तलाई दक्षिण भारतका जनताले भगवानलाई जस्तै पुजा गर्छन् । फ्यानहरुले उनको एउटा मन्दिर पनि बनाएका छन् । भगवानलाई पुजा गर्दा पैसा चढाउने चलन छ । फिल्म हेर्दा फ्यानहरुले पनि यसैगरी सिक्का चढाउँथे । फ्यानले फालेका सिक्काले थिएटरको पर्दा नै च्यातिर थालेपछि रजनीको फिल्म हेर्न हलभित्र जाँदा साथमा सिक्का लैजान प्रतिबन्ध लगाइएको थियो ।
२०१६ मा आएको रजनीको फिल्म कबालीको रिलिजको दिन दक्षिण भारतका धेरै सहरका कम्पनीहरुले कर्मचारीलाई विदा दिए । कैयौं कम्पनीले त कर्मचारीलाई निःशुल्क फिल्मको टिकट समेत बाँडे । अहिलेसम्म रजनीकान्तका ६६ हजार फ्यान क्लव सरकारी निकायमा दर्ता भएका छन् । दर्ता नभएका फ्यान क्लवको संख्या त लाखौंमा छ । रजनी बिरामी भए उनका फ्यान मन्दिरका सिढी चढ्न थाल्छन् र हवन तथा यज्ञ गराउँछन् ।
रजनीकान्तका फ्यान जी मणिले रजनीको जन्मदिनमा शानदार पार्टी दिनको लागि आफ्नी पत्नीका सबै गहना बेचिदिएका थिए । यो घटना सार्वजनिक भएपछि जी मणिलाई रजनीको एक डकुमेन्ट्रीमा स्थान दिइएको थियो । २०११ मा रजनी मृगौलाको समस्याले सिंगापुरको एलिजाबेथ अस्पतालमा भर्ना भएका थिए । त्यतिबेला फ्यान रजनीराजाले आफ्नो मृगौला दिने निर्णय गरेका थिए । यसको लागि उनले आत्महत्याको प्रयास गरेका थिए ताकि उनको मृगौला दिएर रजनीलाई बचाउन सकियोस् ।
गोपी नामका एक फ्यानले रजनीको हरेक फिल्म रिलिज हुँदा १ हजार जना गरिबहरुलाई चेन्नइ ल्याएर रजनीको फिल्म देखाउँछन् । गोपी रजनीलाई भगवान मान्छन् । यसरी हरेक फिल्म रिलिज हुँदा १ हजार जनालाई फिल्म देखाउँदा उनलाई लाखौं ऋण लाग्यो । उनले पत्नीको सबै गहना र घर पनि बेच्नुपर्को छ ।
फिल्म निर्माताहरुमा एउटा अनौठो डर छ । उनीहरु फिल्ममा रजनीकान्तलाई मरेको देखाउन डराउँछन् । एक त यसो गर्दा फिल्म फ्लप हुन्छ भन्ने उनीहरुलाई डर हुन्छ अर्को यसो गर्दा दंगा भड्किने डर हुन्छ । मणिरत्नमको फिल्म थलापतिमा सुरुवाती स्क्रिप्ट अनुसार रजनीकान्त मरेको देखाइने तय थियो । तर, दंगाको डरले सुटिङ भइसकेको दृश्य बदलेर फेरि सुटिङ गरिएको थियो ।
रजनीका फ्यानका कहानी गजबका छन् तर रजनी स्वयं भने बलिउड सुपरस्टार अमिताभ बच्चनका फ्यान हुन् । रजनी अमिताभलाई आफ्नो प्रेरणा मान्थे र अमिताभका फिल्मको तेलुगु रिमेकमा उनको रोल आफूले गर्थे । अमिताभको फिल्म ‘डन’को तुलुगु रिमेक ‘बिल्ला’ रजनीको करिअरको पहिलो कमर्सियल हिट र उनको करिअरको टर्निङ प्वाइन्ट थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-