काठमाडौं। चीनले संसारकै सबैभन्दा तीब्र गतिको यात्रुवाहक विमान बनाउँदैछ । हाइपरसोनिक प्रविधिमा आधारित यो जहाजले १० जना यात्रुलाई लिएर संसारको जुनसुकै ठाउँसम्म १ घण्टाभित्र पुग्न सक्छ । चीनले बनाएको प्रोटोटाइपमा एक जोडी ‘डेल्टा’ पखेटाहरु जडान गरिएका छन् । यी पखेटाहरु फ्रान्स र बेलायतले डिजाइन गरेको ‘कंकर्ड’ सुपरसोनिक विमानको जस्तै देखिन्छ । तर यसका टुप्पाहरु माथितिर फर्किएका छन् ।
चीनले हालै ६ हजार माइल प्रतिघण्टाको गतिमा उड्न सक्ने न्यूक्लियर मिसाइल इन्जिन बनाएको चर्चा बढेका बेला यो विमान बनाउने कुरा बाहिरिएको हो । चीनका अन्तरिक्ष वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार यो हाइपरसोनिक विमान बोइङ ७३७ विमानभन्दा ठूलो छ । १४८ फिट लामो यो विमानमा दुईवटा एयर ब्रिथिङ इन्जिन बडीको माथिपट्टि जडान गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
विमानको कम्प्लेक्स एरोडायनामिक डिजाइनले गर्दा यो विमान आवाजको गतिभन्दा ५ गुणा तीब्र गतिमा उड्न सक्छ । यो अवधारणा चीनले यो विमानको प्रदर्शन परीक्षण गर्नको लागि गरेको पछिल्लो अन्तरिक्ष मिशनमा प्रभावकारी प्रमाणित भइसकेको छ । अनुसन्धानकर्ताहरुले परीक्षणमा प्रभावकारी देखिएको नयाँ एरोडायनामिक मोडल यो विमानमा प्रयोग गरेका छन् । यो परीक्षणमा वैज्ञानिकहरुले विमानमा थप बलियो बनाउनुपर्ने क्षेत्रहरु पत्ता लगाएका थिए ।
बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ता लिउ रुइका अनुसार परीक्षणमा प्राप्त नतिजाहरु यस्तै किसिमको इन्जिनियरिङ परियोजनामा प्रयोग गरिनेछन् । दुई अन्तरिक्ष मिशनको सफलतापछि यो अवधारणाले काम गर्ने देखिएको छ । यो परीक्षण कुनै पनि देश पहिलो प्रयासमै सफल भएको पहिलो परीक्षण पनि थियो । हाइपरसोनिक एयरक्राप्ट चीनको हाइटेक योजनामध्येको प्रमुख हो र यो क्षेत्रमा चीनले ठूलो लगानी पनि गरिरहेको छ ।
हाइपरसोनिक प्रविधिको विकास र परीक्षण विभिन्न देशहरुले गरिरहेको भए पनि चीनबाहेक अन्य कुनै पनि देश यो प्रविधिमा सफल हुन सकेका छैनन् । तर, चीनले भने हाइपरसोनिक प्रविधि विकास गरिसकेको पश्चिमी देशका वैज्ञानिकहरुले विश्वास गर्छन् । चीनले केही हप्ताअगाडि पनि हाइपरसोनिक एयरक्राफ्टबाट मिसाइल परीक्षण गरेको दावी गरिएको थियो । तर, चीनले भने आफूले यो प्रविधि हासिल गरिसकेको सार्वजनिक रुपमा बताएको छैन ।
चीनले २०२५ सम्ममा हाइपरसोनिक विमानको उडान गर्न सक्ने लक्ष्यसहित काम अगाडि बढाएको छ । यो अवधिमा उसले एयर ब्रिथिङ इन्जिनको नयाँ पुस्ताको समेत विकास गर्ने लक्ष्य राखेको छ । त्यसको १० वर्षपछि चीनले व्यवसायिक रुपमै हाइपरसोनिक जहाजको उडान सुरु गर्ने लक्ष्य राखेको छ जुन जहाजमा १० जनाले यात्रा गर्न सक्नेछन् । यो जहाजले यात्रुलाई पृथ्वीको कुनै पनि ठाउँमा एक घण्टाभित्रै पुर्याउनेछ । चीनको लक्ष्यअनुसार २०४५ सम्म यी विमानले एउटा उडानमा १०० भन्दा धेरै यात्रु बोक्न सक्नेछन् ।
यसअघि चीनले अक्टोबरमा पृथ्वीवरिपरि हाइपरसोनिक मिसाइल हानेको थियो र चीनको सैन्य शक्तिको यो प्रदर्शनले अमेरिका स्तब्ध भएको थियो । त्यतिबेला चीनले अन्तरिक्षमा हाइपरसोनिक ‘ग्लाइड वाहन’ बोकेको रकेट प्रक्षेपण गरेको थियो । यो वाहन आफ्नो लक्ष्यतर्फ जानुभन्दा पहिले पृथ्वीको वरिपरि घुमेको थियो जसलाई देख्दा अमेरिकी अन्तरिक्ष तथा सैन्य अधिकारीहरु स्तब्ध भएको बताइएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-