एजेन्सी मनिला:= फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५६ जना हराइरहेका छन् भने पाँच सय घाइते छन् । राई आँधीलाई फिलिपिन्समा पछिल्लो आठ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ । आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् । आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्णरूपमा क्षति गरेको रेडक्रसले जनाएको छ ।
‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त भएका छन्,’ रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले भन्नुभयो । प्रभावित क्षेत्रमा आँधीका कारण घरका छाना भत्किनुका साथै रुख तथा पोलहरू ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत् अवरोध भएको छ ।
फिलिपिन्समा बारम्बार शक्तिशाली आँधी आउने गरेको छ । यो देशमा वर्षमा औसत २० आँधी आउने गरेका छन्। सन् २०२० को नोभेम्बरमा समुद्री आँधी ‘गोनी’ले आफ्नो मार्गमा मानवीय क्षति र विनाश निम्त्याएको थियो । सन् २०१३ मा ६ हजार मानिसहरूको ज्यान जानेगरी आएको ‘हैयान’ समुद्री आँधी सबैभन्दा ठूलो आँधी भएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-