काठमाडौं -पनामा पेपर्स लिक विषयमा बलिउड अभिनेत्री ऐश्वर्या रायसँग भारतको प्रवर्तन निर्देशालय (ईडी)ले ७ घण्टा सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको कम्पनी र बैंकको खाताको विषयमा सोमबार सोधपुछ गरिएको हो ।
भारतीय मिडियाका अनुसार ऐश्वर्याले ५० हजार डलरको कम्पनीलाई १५ सय डलरमा बेचेको विषयमा पनि ईडीले सोधपुछ गरेको छ । बलिउड नायक अमिताभ बच्चनको बुहारी बनेपछि ऐश्वर्याले यो कम्पनी बेचेकी थिइन् ।
सोमबार दिल्लीको लोकनायक भवनमा भएको सोधपुछमा ऐश्वर्याले केही प्रमाणहरु पनि पेश गरेकी थिइन् । पनामा पेपर्समा भारतका ५ सय व्यक्तिको नाम आएको छ । यसमा नेता, खेलाडी, व्यापारी, मनोरञ्जन दुनियाँका कलाकारको नाम छ ।
एक महिनाअघि यही विषयमा जवाफ दिन अभिनेता अमिताभ बच्चन पनि ईडीको कार्यलय पुगेका थिए । अमिताभलाई फेरि कार्यालय बोलाउने तयारी गरिएको छ । सन् २०१६ मा बेलायतको ल फर्मको १।१५ करोड ट्याक्स डकुमेन्ट लिक भएको थियो । यसमा भारतका ५ सय मानिसको नाम समावेश थियो ।
रिपोर्ट अनुसार अमिताभलाई चार कम्पनीको निर्देशक बनाइएको थियो । यसमा तीनवटा कम्पनी बहामास र एउटा कम्पनी भर्जिन आइल्याण्डमा थियो । यी कम्पनीको सम्पत्ति ५ हजारदेखि ५० हजार डलरसम्म थियो ।
ऐश्वर्यालाई पनि एउटा कम्पनीको निर्देशक बनाइएको थियो । पछि उनलाई कम्पनीको शेयर होल्डर मात्र भनिएको थियो । कम्पनीको नाम अमिक पार्टनर्स प्राइभेट लिमिटेड थियो । यसको मुख्य कार्यालय भर्जिन आइल्याण्डमा थियो । सन् २००५ मा बनाइएको यो कम्पनी २००८ मा बन्द गरिएको थियो ।
के हो पनामा पेपर्स ?
ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता कर सम्बन्धी प्रावधान खुकुलो भएका देश र क्षेत्रहरु, जसलाई अफसोर भनिन्छ । यसमा कम्पनी खोल्न सहयोग गर्ने एउटा ल फर्म ‘मोस्साक फोन्सेका’बाट लिक भएका डिजिटल डकुमेन्टहरुलाई नै पनामा पेपर्स भनिएको हो ।
यो ल फर्म पनामामा दर्ता भएको भएर यसलाई पनामा पेपर्स भनिएको हो । मोस्साक फोन्सेका यस्ता अफसोर कम्पनी फ्याक्ट्रीहरु झैँ दर्ता गर्ने विश्वका कयौँ कम्पनीमध्ये एक मात्र हो । ४२ देशमा ६०० जना यसका लागि काम गर्छन् । यसले गर्ने गैरकानुनी कामबारे अमेरिकाको भाइस म्यागेजिनले सन् २०१४ मै विस्तृत अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो ।
गैरकानुनी
अफसोर इन्डस्ट्रीमा कानुन अनुसार प्रदान गरिएको अधिकांश सेवा कानुनी नै हुन्छन् । तर यी कागजातहरुले बैँक, ल फर्म र अरु अफसोर प्लेयरहरुले कानुनी आवश्यकता पूरा नगरेको देखाएको आइसिआइजेको दावी छ । खासमा आपराधिक संस्था हो कि हैन, ट्याक्स डजिङ वा राजनीतिक भ्रष्टाचार छ कि छैन उनीहरुले निश्चित गर्नुपर्ने हुन्छ ।
तर फाइलहरुका अनुसार अफसोर मिडिलम्यानहरुले शंकास्पद कारोबारबाट आफू र आफ्ना ग्राहकहरुलाई जोगाएको, अफिसियल रेकर्डहरु म्यानिपुलेट गरेको देखिएको आइसिआइजे बताउँछ ।
प्रतिक्रिया लेख्नुहोस्:-