काठमाडौं। टर्कीकी २० वर्षकी युवतीले ठूलो मन बनाएर त्यही व्यक्तिसँग बिहे गरेकी छिन् जसले उनको अनुहारमा एसिड हानेका थिए । यो घटनापछि ती युवतीले केवल ३० प्रतिशत मात्र देख्न सक्छिन् । उनले यसरी बिहे गर्ने निर्णय गरेपछि सामाजिक संजालमा उनको निकै आलोचना भइरहेको छ । नेटिजेनहरुले समाजिक संजालमा उनको आलोचना गर्दै उनले यसो गर्नु हुँदैनथ्यो भनेका छन् ।
यी युवतीको नाम बेरफिन ओजेक हो । उनलाई एसिड हान्ने युवकको नाम कासिम ओजन सेल्टी हो । अहिले बेरफिनले कासिमसँग बिहे गरिसकेकी छिन् । डेलीमेलमा प्रकाशित एक रिपोर्ट अनुसार कासिमले बेरफिनमाथि एसिड आक्रमण २०१९ मा गरेका थिए । त्यो घटना अघि उनीहरु प्रेम सम्बन्धमा थिए ।
उनीहरुबीच ब्रेकअप भएपछि कासिमले बेरफिनमाथि एसिड आक्रमण गरेका थिए । त्यतिबेला कासिमलाई १३ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो तर पछि कानुनमा संशोधन भएका कारण उनी छिटै जेलबाट छुटे । हालै कानुनमा संशोधन भएपछि कासिमलाई छिटै रिहा गरिएको थियो ।
कासिमले बेरफिनलाई एसिड आक्रमण गर्नुभन्दा पहिले उनी आफ्नो नभए कसैको हुन नसक्ने भनेका थिए । यो घटनापछि जब बेरफिनलाई होस आयो त्यसपछि उनले आफूले भोगेको सबै कुरा बताएकी थिइन् । उनको बयानको आधारमा उनका ब्वायफ्रेण्डले सजाय पाएका थिए ।
पछि कासिमले आफूलाई गल्तीको महसुस भएको भन्दै उनले लगातार बेरफिनसँग माफी मागे । उनले बेरफिनलाई माफी माग्दै कैयौं म्यासेज गरे । त्यसपछि बेरफिनले यो मुद्दामा आफ्नो उजुरी फिर्ता लिइन् ।
बेरफिनका पिताmे भने आफूलाई यसबारे जानकारी नभएको बताए । उनले भने ‘हामीले वर्षौंसम्म कानुनी लडाइँ लड्यौं तर अब सब बर्बाद भएको छ ।’ यो जोडीको सामाजिक संजालमा निकै आलोचना भइरहेको छ तर उनीहरुले कुनै पनि आलोचनाको जवाफ दिएका छैनन् ।
एक युजरले सामाजिक संजालमा उनीहरुको आलोचना गर्दै लेखेका छन् ‘माफी गरेर अपराध कम हुँदैन । मलाई लाग्छ यो बिहे एक वा दुई महिनामा समाप्त हुन्छ । यी युवती त्यही युवकसँग बस्न बाध्य हुनुपर्नेछ जसले उनीसँग बर्बरता गरेका थिए ।’
प्रतिक्रिया लेख्नुहोस्:-