काठमाडौं। रुसका एक कुख्यात अपराधीले बिहे गर्नको लागि एक मानसिक अस्पतालबाट रिहाइको माग गरेका छन् । यी व्यक्ति केटीहरुका लाशलाई चिहानबाट चोरेर घरमा ल्याएर राख्थे । त्यसपछि उनले ती लाशहरुलाई गुडियाजस्तै सजाएर घरमा राख्थे । उनले घरमा २६ जना केटीहरुको शव राखेका थिए । यी व्यक्तिको नाम एनाटोली मोस्कभिन हो र एक समय उनी इतिहासविद थिए ।
मोस्कभिनले आफूलाई रुसको एक मेन्टल इन्स्टिच्युटबाट छोडिदिनको लागि निवेदन दिएका छन् ताकि उनले बिहे गर्न सकुन् । डेलीस्टारका अनुसार ५५ वर्षका मोस्कभिन रुसको निज्नी नोभ्गोरोद सहरका हुन् । मोस्कभिन २०११ मा गिरफ्तार भएका थिए । उनले ३ देखि १२ वर्षका २६ जना केटीहरुको लाश चिहानबाट निकालेर घरमा ल्याएको आरोप छ । पुलिसले उनको एक भिडियो पनि जारी गरेको थियो । भिडियोमा यी लाशहरु सोफामाथि राखिएका देखिएका थिए ।
मोस्कभिनलाई रुसको पेनल कोडको आर्टिकल २४४ अन्तर्गत दोषी ठहर गरिएको थियो । यो आर्टिकलमा चिहान र शवको अपवित्रतामा सजायको प्रावधान छ । पछि मोस्कभिनलाई उपचारको लागि मनोचिकित्सककहाँ पठाइयो । आफ्नो गिरफ्तारीपछि एक अन्तरवार्तामा उनले बालबालिकाप्रति सहानुभूति प्रकट गर्ने कोसिस पनि गरेका थिए । उनले आफूले विज्ञान र कालो जादुको माध्यमबाट यी शवको जीवन फिर्ता ल्याउन सक्ने बताएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-