रोम । इटालीका एकजना पुरुषले खोप नलगाईकनै खोप लगाएको प्रमाणपत्र लिन ठूलो जुक्ति लगाएका छन् । पेसाले दन्त चिकित्सक ती व्यक्तिले वास्तविक खोपबाट बच्न ‘रबर फोम’बाट बनेको नक्कली पाखुरा धारण गरी खोप लगाउन खोजेको बुझिएको छ ।
उनलाई खोप लगाउने बिएल्ला सहरकी स्थानीय नर्स फिलिप्पा बुआले इटालियन अखबार कोर्रिरे डेल्ला सेरालाई भनेकी छन्, “मैले खोप लगाउन खोज्नासाथ केही त गडबड हुनुपर्ने महसुस गरेकी थिएँ । मलाई उनको पाखुरा अलि बढी नै चिसो र चिपचिपे लाग्यो । सुरुमा त मलाई उनको पाखुरा नै नक्कली हो कि जस्तो लागेको थियो । मैले सोचेँ– गल्तीले उनले खोपका लाग नक्कली पाखुरा अघि सारेका होलान् । तर, वास्तविकता अर्कै निस्क्यो । उनले त सक्कली पाखुरामा नक्कली पाखुरा लगाएका रहेछन् ।”
बुआले दि न्युयोर्क टाइम्सलाई बताएकी छन्, ‘उनले तुरुन्तै आफ्नो उद्देश्यबारे बताए । उनले खोप नलगाईकनै कोभिड–१९ खोप प्रमाणपत्र खोजेका रहेछन् । वास्तवमा उनलाई पेसाको निरन्तरताका लागि सो प्रमाणपत्र नभई नहुने भएको रहेछ ।”
पिडमन्ट क्षेत्रका सरकारी अधिकारीहरूले नाम नखुलाइएका उनको जाली कामको व्यापक आलोचना गरेका छन् ।
गएको महिना मात्र इटालीले बार, रेस्टुरेन्ट र थियटरलगायत अरू सार्वजनिकस्थलमा प्रवेश पाउन खोप लगाएको प्रमाणपत्र वा संक्रमित भएर उपचार गराएको स्वास्थ प्रतिवेदन देखाउनुपर्ने नयाँ नियम बनाइएको थियो । ती व्यक्तिविरुद्ध आपराधिक मुद्दा चलाइने भएको छ । हफपोस्टबाट ।
प्रतिक्रिया लेख्नुहोस्:-