लन्डन — तीन दशकयताकै सबैभन्दा ठुलो आँधीका कारण बेलायतको जनजीवन प्रभावित बनेको छ । बीबीसीका अनुसार १९६ किलोमिटर प्रतिघण्टा वेगमा आएको ‘युनिस’ नामक आँधीले यातायात सञ्जाल र रेल सेवा अवरुद्ध हुनुका साथै दर्जनौँ हवाई उडान रद्द भएका छन् ।
सयौं विद्यालय बन्द गरिएका छन् भने साउथ इस्ट इङ्ल्यान्ड र साउथ वेल्सका ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।
मेट अफिसले पहिलोपटक लन्डन, साउथ इस्ट र इस्ट इङ्ल्यान्डका केही भागमा दिउँसो तीन बजेसम्मका लागि सबैभन्दा उच्च खतराको सूचना जारी गर्दै आमजनतालाई सकेसम्म यात्रा नगर्न अपिल गरेको छ ।
साउथ वेस्ट इङ्ल्यान्डको उत्तरी सामुद्रिक भाग र साउथ वेल्समा पनि बेग्लै रेड वार्निङ दिइएको छ । उता स्कटल्यान्डमा हिमपातले १५० वटा विद्यालय बन्द गरिएका छन् ।
बेलायत सरकारको आपत्कालीन बैठक बस्ने तयारी गरिएको छ भने सेनालाई तयारी अवस्थामा राखिएको मन्त्रीहरूले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-