काठमाडौँ : निजी वायुसेवा सञ्चालक कम्पनी आइतबारदेखि २५ प्रतिशत यात्रु लिएर आन्तरिक उडान सञ्चालन गर्न तयार रहेका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक उडान सञ्चालन गर्न निर्देशन दिएका आधारमा १७ गतेसम्म पर्खन नसक्ने वायुसेवा सञ्चालक कम्पनीका प्रवक्ता योगराज कँडेलले इकागजलाई जानकारी दिए ।
‘पुरानो भाडादरमा हामी यात्रु राखी उडान भर्न तयार छौँ,’ कँडेल भन्छन्,’ १७ गतेबाट ५० प्रतिशत यात्रु राखेर उडान भर्नेछौँ । तत्काललाई आइतबारदेखि उडान भर्न दिनुपर्छ ।’
हवाइ इन्धनको मुल्य बढेको छ त्यस विषयमा सरकारसँग कुरा राख्ने उनले प्रस्ट पारे । सरकारले कोरोना महामारीको समयमा उडान खुलाउने अनुमति दिनु स्वागतयोग्य कुरा रहेको कँडेलले बताए ।
‘चाँडो खुलाउन दिनुपर्छ भनी आज नागरिक उड्डयन प्राधिकरणसँग वार्ता छ । सरकारले भनेको समयभन्दा अघि उडान भर्न पाउनुपर्छ भनी माग राख्नेछौँ,’ उनी भन्छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १७ गतेबाट आन्तरिक उडान भर्न अनुमति दिने सूचना सार्वजनिक गरेको थियो ।
दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि वैशाख २० गतेबाट आन्तरिक उडान बन्द भएको थियो ।-इकागज
प्रतिक्रिया लेख्नुहोस्:-