काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमण उच्च भएयता सरकारले कोरोना पहिचानका लागि घरमै नमुना संकलन गर्न स्वास्थ्यकर्मी पठाउने व्यवस्था गरेको छ ।
घरमै नमुना संकलन गरी परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निश्चित निजी प्रयोगशालाहरुलाई अनुमति दिएको छ । घरमै गएर नमुना संकलन गरेबापत ती प्रयोगशालाले बढीमा ५०० रुपैयाँसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालामा एउटा नमुना परीक्षण गर्दा एक हजार रुपैयाँ र निजीमा दुई हजार रुपैयाँ परीक्षण शुल्क तोकेको छ । त्यसमा पनि लक्षण देखिएका व्यक्तिको सरकारी अस्पतालमा निःशुल्क नमुना परीक्षण गर्ने व्यवस्था गरेको छ ।
तर, पछिल्लो समय केही निजी अस्पतालहरुले घरमै गएर नमुना संकलन गरेबापत मनपरी शुल्क लिने गरेको पाइएको भन्दै त्यसरी नमुना लिन आउने प्रयोगशालालाई ५०० रुपैयाँभन्दा बढी शुल्क नतिर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले आग्रह गरेको छ ।
यस्तै, नमुना परीक्षण गराउँदा बिचौलियामार्फत नगराउन र नमुना लिन आउने व्यक्तिको परिचयपत्र हेरेर सरकारले मान्यता दिएका प्रयोगशालाका प्रतिनिधिमार्फत मात्रै संकलन गराउन एनपीएचएलले अनुरोध गरेको छ ।
घरमै नमुना संकलन गर्ने क्रममा प्रयोग भएका सामग्रीको व्यवस्थापन पनि सम्बन्धित प्रयोगशालाबाट खटिएका व्यक्तिले नै गर्नुपर्ने व्यवस्था रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झाले बताइन् ।
अहिले देशभर ५८ सरकारी र ३८ निजी गरी ९६ वटा प्रयोगशालाबाट कोभिड–१९ परीक्षण भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-