हेटौँडा, असार १२ गते । बागमती प्रदेशको राजधानी हेटौँडा हुँदै सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको दुवै मार्ग पहिरोका कारण अवरुद्ध बनेको छ । शनिबार विहानैबाट अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौँ प्रवेश गर्ने माग पहिरोले अवरुद्ध बनेको हो । यस्तै, हेटौँडा–भीमफेदी–कुलेखानीहुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौँ प्रवेश गर्ने मार्ग पहिरोका कारण अवरुद्ध भएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले जनाएको छ ।
निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले पहिरोका कारण अवरुद्ध दुवै सडक सुचारु गर्न प्रयास भइरहेको बताउँदै आइतबारसम्ममा सुचारु हुने जानकारी दिनुभयो । उहाँले वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक सुचारु गर्न समस्या भएको बताउनुभयो ।
हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको र पहिरो जाने क्रम रोकिएको छैन । यसैगरी कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिकाका २ स्थित छपारेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । प्रवक्ता ओझाका अनुसार यहाँ पहिरोसँगै बाढीलेसमेत सडक बगाएको छ ।-गोरखापत्र
प्रतिक्रिया लेख्नुहोस्:-