नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधवार दिउँसो र राति अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।
बिहीवार भने बुधवारको दाँजोमा यी प्रदेशका अलि बढी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागकी मौसमविद् सजिना शाक्यले बीबीसीलाई बताइन्।
“केही स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रमा पानी पर्छ,” मौसमविद् शाक्यले भनिन्।
शुक्रवार दिउँसोदेखि कर्णाली प्रदेशमा अत्यधिक वर्षा कम हुने र रातिदेखि प्रदेश नम्बर २ मा पनि अत्यधिक वर्षाको सम्भावा टर्दै जाने विभागले जनाएको छ।
विभागले बुधवार बिहान ६ बजे बुलेटिन जारी गर्दै यी पाँच प्रदेशका थोरै स्थानहरूमा अत्यधिक वर्षा तथा एक वा दुई स्थानहरूमा त्योभन्दा अझ धेरै वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा सचेत रहनुपर्ने जनाएको छ।
“उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ।दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,” मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ।-बिबिसी नेपाली












प्रतिक्रिया लेख्नुहोस्:-