यो वर्ष मनसुनमा विगतका वर्षभन्दा धेरै पानी पर्ने अनुमान गरिएका कारण जोखिम पनि धेरै रहेको बताइन्छ।
मनसुन सुरु भएको पहिलो सातामै विभिन्न भागमा पहिरो र बाढीका कारण जनधनको क्षति भएका खबरहरू आए।
सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीका कारण थुप्रै परिवार अन्यत्र सर्न बाध्य भए भने कतिपय परिवार घरबारविहीन भएको बताइन्छ।
अब हुने अत्यधिक वर्षाका कारण थुप्रै क्षेत्रहरू जोखिममा रहेको मौसमविद् शाक्यले बताइन्।
“यसअघि परेको पानीले नै माटो गलाइसकेको छ र त्यसमाथि भारी वर्षा हुँदा जोखिम धेरै छ,” शाक्यले भनिन्।
२०७२ सालमा भूकम्प गएपछि सरकारले विभिन्न क्षेत्रको सहायतामा पहिरो जोखिमको अध्ययन थालेको थियो।
उक्त अध्ययनका आधारमा पहिरोको उच्च, मध्यम र सामान्य जोखिम निर्धारण गरिएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार वाग्मती प्रदेशका सात वटै जिल्ला र कर्णाली र गण्डकी प्रदेशका पहाडी जिल्लाहरू बढी जोखिममा छन्।
जोखिममा रहेका जिल्लामा खास गरी गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, ताप्लेजुङ, स्याङ्जा, दैलेख, रुकुम, कालिकोट रुकुमलगायत छन्।-बिबिसी नेपाली












प्रतिक्रिया लेख्नुहोस्:-