रुपन्देही- हत्या आरोपमा ४४ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका दुई जनालाई ४४ वर्षपछि रुपन्देहीबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी डा. मनोज केसीका अनुसार पक्राउ पर्नेमा रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान चाई रहेका छन् ।
उनीहरूलाई प्रहरीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । एसपी केसीका अनुसार २०३४ साल असोज २३ गते राति ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या भएको थियो ।
सर्वोच्च अदालतले दुबै जनालाई २०४० साल वैशाख ८ गते कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय फैसला गरेको थियो। फैसला यता दुबै जना हालसम्म फरार थिए ।
प्रहरीले दुबै अभियुक्तलाई जिल्ला अदालत रूपन्देहीले फैसला कार्यान्वयनको लागि कारागार चलान गरिसकेको छ ।-खबरहब
प्रतिक्रिया लेख्नुहोस्:-