सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका वडा नम्बर १३ को श्रीलङ्का टापु अर्थात् गोबरगाढामा बिजुली जोडिएको छ । झन्डै दुई करोड ५० लाख रुपैयाँको लागतमा विद्युत् सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।
गाेबरगाढामा बिजुली जाेडिएपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी लटु यादवले बताउनुभयो ।
श्रीलङ्का टापु एलानी जग्गामा बसोबास भएको बस्ती हो । बस्तीमा विद्यालय, स्वास्थ्य चौकीलगायतका पूर्वाधार भए पनि बिजुली पुगेको थिएन । टापुमा राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गतको विद्युत् सेवा जडान भएको विद्युत् प्राधिकरण शाखा सप्तरी राजविराजका प्रमुख अमोदकुमार यादवले बताउनुभयो ।
हनुमाननगर कङ्कालनी नगरपालिकादेखि ६ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी विद्युत् सेवा विस्तार गरिएको हो । संरचना निर्माणको काम थालेको दुई वर्षमा गाउँमा विद्युत् पहुँच पुर्याउन सफल भएको वितरण केन्द्रले जनाएको छ ।
गाउँमा विद्युत् पुगेपछि बत्ती बाल्न, मोबाइल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज हुनेछ ।
श्रीलङ्का टापुमा विद्युत् पुगेपछि सप्तरीमा पूर्ण विद्युतीकरण भएको पनि यादवले बताउनुभयो । वितरण केन्द्रका अनुसार मिटर जडान गर्नका लागि स्थानीयवासीसँग नम्बरी जग्गा नभएको हुँदा धरौटी राखेर मिटर जडान गर्नुपर्ने बाध्यता छ । -उज्यालो अनलाईन
प्रतिक्रिया लेख्नुहोस्:-