नेपाल नागरिक उड्डयन प्राधिकरणले चीन उडानको लागि तालिका सार्वजनिक गरे पनि तत्काल उडान नहुने देखिएको छ।
प्राधिकरणका उडान अनुमति शाखाका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले नेपाल सरकारले अनुमति दिए पनि चिनियाँ एयरलाइन्सले तत्काल उडान गर्ने सम्भावना कम रहेको बताए।
प्राधिकरणले छेन्दु र ग्वान्झाउ उडानका लागि दुई एयरलाइन्सलाई अनुमति दिएको छ।
छेन्दु उडानको लागि आइतबार र ग्वान्झाउ उडानको लागि चाइना साउदर्नलाई उडान अनुमति दिएको छ।
‘पहिला हामीले खुल्ला गर्ने निर्णय गरे पनि उनीहरुले नियमित उडानको लागि आवेदन दिएका थिएनन्’, भुलले भने, ‘अहिले उडान तालिकाको लागि आवेदन दिएका छन्, हामीले पनि अनुमति दिएका छौँ तर चीनबाट अनुमति नपाएको भन्ने छ।’
उनले चीनमा कडा क्वारेन्टिन व्यवस्था भएकाले त्यहाँ उडानको लागि केही समस्या भएको बताए।
भुलले एयर चाइना र चाइना साउदर्नले चीनबाट सहमति लिई नियमति उडान गर्नको लागि अझै एक हप्ता बढी लाग्न सक्ने बताए।
त्यस्तै हिमालय एयरलाइन्सले हरेक बुधबार चोंगकिंग उडान गर्ने समय तालिका सार्वजनिक गरेको छ।
हिमालय एयरलाइन्सले सार्वजनिक गरेको तालिकाअनुसार बुधबार साँझ ५ बजे काठमाडौंबाट उडान हुनेछ।
तर हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले उडान अझै निश्चित नभएको बताए।
‘जुलाई ७ बाट उडान गर्ने हाम्रो तयारी छ। तर कन्फर्म भएको छैन’, श्रेष्ठले भने, ‘आजभोलिमा उडान हुने नहुने थाहा होला।’-नेपाल खबर
प्रतिक्रिया लेख्नुहोस्:-