सप्तरी – गएकाे केही दिनयता सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो ।
सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्युसेक प्रतिसेकेन्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज बेलुकाकाे मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ५५ हजार नाै सय ७५ क्युसेक पानी बगिरहेको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार एक लाख ५५ हजार नाै सय ७५ क्युसेक प्रतिसेकेन्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् । कोशीको पछिल्लो मापनअनुसार नदीको बहावमा निरन्तर वृद्धि भइरहेको छ ।
सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तर घटबढको क्रम भइरहे पनि अहिलेसम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमनसमेत भइरहेकाे बताएको छ ।
निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ । -उज्यालो अनलाईन
प्रतिक्रिया लेख्नुहोस्:-