इटहरी । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन् ।
शनिबार बिहान ८ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २२ हजार ४७५ क्यूसेक पुगेको कोसी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।
शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव बढेको हो ।
शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो । पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइरहेकाले अझै बढ्दै जाने संकेत देखिएकाले नदीनजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन सुनसरी प्रशासनले आग्रह गरेको छ ।
सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ । बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ ।












प्रतिक्रिया लेख्नुहोस्:-