त्रियुगा, बलान र खड्ग नदीमा कटान
राजविराज — लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सय भन्दा बढी घरमा डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सय भन्दा बढी घर डुबानमा परेको छ ।
उक्त नगरपालिकाको ९, १०, ११ र १२ नम्बर वडाका करिब ३ सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए ।
निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार बिहान ९ बजे कोसी ब्यारेज भएर २ लाख २२ हजार ७ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । ब्यारेजका २९ वटा ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बचाब उच्च हुँदै गएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको बस्ती हो ।
गोबरगाढाका वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार बस्तीमा अहिले महिला,बालबालिका समेत गरि ५ सय जना छन् । कोसीमा पानी बढेसँगै आफूहरु असुरक्षित भएको वडाध्यक्ष यादवले बताए । तरपनि त्यहाँका स्थानीयले अझै घर छोड्न मानेका छैनन् । हरेक वर्ष वर्षातमा गोबरगाढामा सप्तकोसीको पानी पस्ने गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाले कोसीको मध्य भागमा रहेको उक्त बस्ती स्थानान्तरण गर्ने योजना ल्याएपनि स्थानीयले अस्वीकार गर्दे आएका छन् ।
अहिले कोसीमा पानी बढेपछि महिला र बालबालिकालाई सुरक्षित रुपमा हनुमाननगर ल्याउन प्रयास गरेपनि स्थानीयले नमानेको नगरप्रमुख साहले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गोबरगाढा अहिलेसम्म सुरक्षित रहेको र खतराको अवस्था आए स्थानीयलाई उद्धार गर्ने बताए ।
यसैबीच त्रियुगा, अमहा, टेंग्रा, गंगाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए । त्रियुगा र टेंग्रा नदीमा कटान समेत लागेको छ । नगरप्रमुख गौतमका अनुसार त्रियुगा नदीले वडा नम्बर २ सिद्धिपुर र वडा नम्बर ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ ।
यस्तै जिल्लाको सुदुरपश्चिम बलान बिहुल गाउँपालिकामा बलान नदीले कटान गरिरहेको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार बलान नदीले वडा नम्बर २ र ४ मा कटान गरिरहेको छ । स्थानीयस्तरमा उपलब्ध साधनस्रोतले नियन्त्रणको कार्य गरिरहेको उनले बताए ।
यता डाकनेश्वरी नगरपालिका ६ कटैयामा खड्ग खोलाले तटबन्ध कटान सुरु गरेको नगरप्रमुख शिवनारायण साहले जानकारी दिए ।
वर्षा निरन्तर जारी रहेकाले जनजीवन समेत कष्टकर हुँदै गएको छ । जिल्लाका अधिकांश ग्रामीण बाटोहरु हिलाम्यै भएको छ । बस्तीबाट निस्कन समेत समस्या हुने गरी बाटो हिलाम्यै र क्षतिग्रस्त भएको छ ।-कान्तिपुर












प्रतिक्रिया लेख्नुहोस्:-