कोरोनाभाइरस महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको निषेधाज्ञा थप विभिन्न क्षेत्रलाई खुला गर्दै असार ३१ गतेसम्म बढाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
आइतवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाका प्रावधानहरूलाई पहिलेकोभन्दा धेरै नै खुकुलो बनाउँदै त्यसलाई एक साता बढाउने निर्णय गरेको हो।
नयाँ निर्णयसँगै अब उपत्यकामा सवारीसाधनमा लागेको जोरबिजोर प्रणाली हटेको छ।
योसँगै सार्वजनिक यातायातका टेम्पो तथा निलो माइक्रोमा ९ जनाभन्दा यात्रु नबढ्ने गरी सञ्चालन गर्न पाइनेछ।
बसका हकमा भने कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन।
त्यस्तै विभिन्न निकायबाट पूर्वनिर्धारित लिखित र प्रयोगात्मक परीक्षणाहरू सीमित सङ्ख्यामा परीक्षार्थी राखेर सञ्चालन गर्न पाइने भएको छ।
“परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जना भन्दा बढी मानिसहरू भेला जम्मा नहुने गरी परिक्षा सञ्चालन गर्ने,” बैठकपछि जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको आदेशमा उल्लेख छ।
नयाँ व्यवस्था अनुसार औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसलहरू जुनसुकै बेला सञ्चालन गर्न सकिने छ भने त्यस बाहेकका अन्य व्यवसाय साँझ ६ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको छ।
यसैगरी रेस्टुरेन्टलगायतबाट प्रदान हुने ‘टेक अवे’ र होम डेलिभरी सेवा भने साँझ ७ बजेसम्म चलाउन पाइनेछ।
नयाँ नियम अनुसार अत्यावश्यक कामले काठमाण्डू उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनको हकमा सम्बन्धित जिप्रकाबाट स्वीकृति लिइ प्रवेश पाउने व्यवस्था गरिएको छ।-बिबिसी नेपाली
प्रतिक्रिया लेख्नुहोस्:-