काठमाडौं । साउन १ (शुक्रबार) भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चल्न दिने तयारी भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले यस्तो तयारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सर्वसाधारण नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारी सञ्चालनको तयारी गरिएको बताउँछन् । ‘‘लामो दूरीका सार्वजनिक सवारी नचल्दा सर्वसाधारण मारमा परेका छन् । अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल अपनाएर गाडी चल्न दिने भन्ने छ । जोर–बिजोरका आधारमा चल्न दिने कि अन्य प्रावधानबाट चल्न दिने भन्नेबारे आज बैठक बस्दैछौँ,” उनले भने ।
प्रजिअ निरौलाका अनुसार अत्याधिक भिडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, जिमखाना, स्वीमिङपुल, पार्टिप्यालेस, मठमन्दिरहरुको हकका पहिला कै नियम कायम गरिनेछ ।
यसअघि छोटो दूरीका सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आइसकेका छन् । २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली पनि हटिसकेको छ । व्यापारिक प्रयोजनका क्षेत्रहरु पनि सञ्चालनमा आइसकेका छन् ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो दश दिन थप गरिएको निषेधाज्ञा आज बेलुका राति १२ बजे सकिँदैछ । काठमाडौं उपत्यकामा दैनिक पाँचसयको हाराहारीमा संक्रमण फैलिरहेको छ । -१२ खरी
प्रतिक्रिया लेख्नुहोस्:-