महात्मा गान्धीको नाम नसुन्ने कमै हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका हस्ती गान्धीजी शान्ति र अहिंसाका पुजारी तथा सत्य र निष्ठाका अनुयायी थिए । उनी सादा जीवन र उच्च विचारका पक्षपाती थिए । उनको हतियार भनेकै सत्य र अहिंसा हो । यसैका कारण साम्राज्यवादी ब्रिटिस सरकार घुँडा टेक्न बाध्य भएको थियो । भारतीय स्वतन्त्रता सङ्ग्राममा दुई किसिमका स्वतन्त्रता सेनानी देखिन्छन् । एकथरी इँटाको जबाफ पत्थर दिनुपर्छ भन्ने खालका छन्, जसको नेतृत्व चन्द्रशेखर आजाद र सरदार भगतसिंह आदिले गरेका थिए । अर्काथरि अहिंसात्मक आन्दोलनबाटै भारतलाई स्वतन्त्र गराउन सकिन्छ भन्ने खालका छन्, जसको नेतृत्व गान्धीजीले गरेका थिए ।
सन् १८६९ अक्टुबर २ मा जन्मेका गान्धीको पूरा नाम मोहनदास करमचन्द गान्धी हो । उनको जन्म गुजराँतको पोरबन्दर भन्ने स्थानमा भएको थियो । बाबु करमचन्द गान्धी यसै क्षेत्रका दिवान थिए । आमा पुतलीबाई धार्मिक प्रकृतिकी गृहिणी थिइन् । उनी उच्च शिक्षा हासिल गरेपछि थप अध्ययनका लागि केही समय लन्डन गएका थिए । उताबाट फर्केपछि कानुनी विवाद समाधान गर्ने क्रममा दक्षिण अफ्रिका पुगे । यहाँ रहँदा सत्य र निष्ठाका लागि थुप्रै लडेका थिए, अन्याय अत्याचारविरुद्ध असहयोग आन्दोलन चलाएका थिए । स्वदेश फर्केपछि पनि उनले सोही कामलाई निरन्तरता दिए ।
गान्धीजीका जीवन आन्दोलनमै बितेको छ । लाग्छ, उनी आन्दोलनकै लागि जन्मेका थिए । आन्दोलन पनि त्यस्तो आन्दोलन, सत्य, निष्ठा र अहिंसाको आन्दोलन । तिनमा सन् १९२० को असहयोग आन्दोलन, १९३० को अवज्ञा आन्दोलन र १९४२ को भारत छोडो आन्दोलन मुख्य मानिन्छन् । यसबाहेक पनि थुप्रै आन्दोलनमा सहभागी भएका छन्, जो क्षेत्रीय र प्रान्तीय किसिमका थिए ।
गान्धीजीले भारत स्वतन्त्र गर्ने सर्तमा प्रथम विश्वयुद्धमा ब्रिटिस सरकारलाई समर्थन गरेका थिए तर पछि सरकार यसमा आनाकानी गर्न थाल्यो । फलतः उनी आन्दोलन सुरु गर्न बाध्य भए । ठाउँ ठाउँमा नारा, भाषण, जुलुुस, आमसभा हुन थाल्यो । आन्दोलन चर्कंदै गयो, सरकारले दमन बढाउँदै लग्यो । यस्तैमा एक दिन पञ्जावको अमृतसर नजिक जालियावाला बागमा विशाल शान्ति सभा आयोजना गरिएको थियो, जसलाई सरकारले निर्ममतापूर्वक दबायो, सयौँ मरे, हजारौँ घाइते भए । यसको विरुद्धमा गान्धीले देशव्यापी असहयोग आन्दोलन चलाए । सन् १९२० देखि १९२२ सम्म चलेको यस आन्दोलनमा आन्दोलनकारीहरूले पुलिस चौकीमाथि आक्रमण गरी २२ जना सैनिकको हत्या गरिदिए । त्यसपछि गान्धीजी आनदोलन फिर्ता लिन बाध्य भए । कारण उनी आन्दोलन अहिंसात्मक हुनुपर्छ भन्ने पक्षमा थिए । यसैलाई सन् १९२० को आन्दोलन भनिन्छ ।
सन् १९३० को आन्दोलनको कथा बेग्लै छ । अङ्ग्रेज सरकारले आफूखुसी कानुन बनाई भारतीयहरूमाथि थोपर्ने नीति लिएको थियो । यस्तैमा एउटा नुनसम्बन्धी कानुन पनि थियो । यसअनुसार सरकारबाहेक अरूले नुन बनाउन पाइँदैन भन्ने थियो । गान्धीले यसको विरोध गरे । यस निम्ति गुजराँतको सावरमती आश्रमदेखि दान्डी भन्ने स्थानसम्म पैदल यात्रा गरेका थिए । ३९० किलोमिटर दूरीको यो यात्रा पूरा गर्न उनलाई २४ दिन लागेको थियो । दान्डीमा पुगेर आफैँले नुन बनाए, अरूलाई पनि बनाउन लगाए । फलतः गान्धीसहित उनका अनुयायी पक्राउमा परे । यतिबेला ८० हजारभन्दा बढी आन्दोलनकारी पक्राउ परेको अनुमान गरिएको छ । यसको विरोधमा देशव्यापी आन्दोलन चर्कियो । फलतः सरकार उनलाई छाड्न बाध्य भयो । यही आन्दोलनलाई १९३० को आन्दोलन भनिन्छ ।
सन् १९४२ को आन्दोलन अगस्ट महिनाबाट सुरु भएको थियो, जुन सर्वाधिक उपयोगी र चुनौतीपूर्ण मानिएको छ । यद्यपि विभिन्न कारणवश आन्दोलन त्यति लामो समयसम्म टिकेन । तथापि स्वतन्त्रताको जग बसाउने काम भने यही आन्दोलनले गरेको हो । आन्दोलन खासै सफल नभए पनि अङ्ग्रेज सरकारलाई अब यहाँ टिक्न सकिन्न भन्ने सन्देश यसै आन्दोलनले दिएको हो ।
हिन्दू मुस्लिम एकाता निम्ति जोड दिने गान्धीजी छुवाछूत विरोधी थिए । यस निम्ति उनले अभियान नै चलाएका थिए । त्यतिबेलाको भारतमा यस्तो आवाज उठाउनु चानचुने कुरा थिए तर उनी अभियानमा डटेर लागे, आजीवन लागि नै रहे । कथित तल्लो जाति र पिछडा वर्गलाई हरिजन भन्थे । यही नामलाई नै अघि बढाए । उनका योगदानलाई कदर गर्दै भारतीय समाजले उनलाई राष्ट्रपिताको संज्ञा दिएको थियो । आज पनि भारतीयहरू उनलाई बाबुजी भन्न पाउँदा गौरवको अनुभूति गर्छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-