काठमाडौं । होटलमा खाजा खाइरहेका दुई महिलाको अनुमति विना तस्वीर र भिडियो खिचेर प्रकाशन प्रसारण गर्ने चार जना पक्राउ परेका छन् । झापास्थित बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने दुई युट्युबर र दुई टिकटकर पक्राउ परेका हुन् ।
एक पुरुष र दुई महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरीमा परेपछि उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भदौ १ गते महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दै भिडियो खिचेर युट्युब र टिकटकमा राखेपछि प्रहरीमा उजुरी गरेका थिए । सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै उनीहरूले प्रहरी कार्यालयमा उजुरी दिइएको थियो । पक्राउ परेका खगेन्द्र घिमिरेचाहि राष्ट्रिय अनलाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्षसमेत हुन् । यो समाचार डिसी नेपालमा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-