काठमाडौं- आज जनै पुर्णिमा अथवा रक्षा बन्धन । यो पर्व नेपालका साथ–साथै भारतमा पनि ठुलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पुर्णिमा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर चोखो भएर मन्त्रिएको जनै लगाइन्छ । यसका साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।
त्यस्तै भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु–भाईको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त अचेल नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी–बहिनीले आफ्ना दाजुभाईको सुस्वास्थको कामना गर्दै राखी बानिदिने चलन बढ्दै गएको छ । रक्षा बन्धनको चलन कसरी चल्यो अथवा रक्षा बन्धनको नाम कसरी रक्षा बन्धन रहन गयो भन्ने बारेमा अनेक प्रश्नहरु समय–समयमा उठ्ने गर्छ ।पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविष्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ ।
ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ ।
तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो । दैत्य देवताहरुमाथि भारी पर्न थाले । देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि बृहस्पति कहाँ गए । तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमान्को हातमा बाँधिदीइन् । संयोगले त्यो दिन श्रावण पूर्णिमाको दिन थियो । मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीतहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाध्ने चलन चल्यो ।
त्यस्तै अर्को कथाको कुरा गर्नु पर्दा स्कद पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरु छन् । जसमा असुर राज दानवीर राजा बलीले देवताहरुसंग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सिमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राह्मण भेषमा राजा बली कहा भिक्षा मागे । राजा बली महान दानवीर थिए । उनले ब्राह्मणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राह्मण रुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे । बलिले ब्राह्मणको मागलाई तुरुन्त हुन्छ भने । तर भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुर्ण आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे ।
उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे । बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर–अमर हुने वरदान दिए । राजा बलिले यो वरदान संगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए । भगवान बिष्णुले आफुले लिएको वामनवतार त्यागेर पुनस् लक्ष्मी माता कहाँ जानु पर्ने थियो तर आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसंगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए । नारदले बताए अनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाधेर आफ्नो दाई बनाइन् र आफ्नो श्रीमान्लाई आफुसंग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूर्णिमा तिथि थियो ।
त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको हो । आज पनि यदाकता श्लोकहरु ती प्रसंगहरु सुन्न पाइन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-