काठमाडौं ।सरकारले २५ कात्तिकदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले ९ मंसिरसम्म गणना चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने बताइएपनि कोभिड–१९ महामारीका कारण कार्यक्रम स्थगन गरिएको थियो । स्थगन भएको जनगणना मन्त्रीपरिषद्को निर्णयसँगै पुनः सुरु हुने भएको हो ।
जनगणनामा नेपालको घर, परिवार तथा व्यक्तिहरूको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्नुपर्ने हुन्छ । यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने लक्ष्इ लिइएको छ । सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नगर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी कात्तिकमा पुनः सञ्चालन गर्ने भएपनि गत जेठमा नेपालको नक्सामा समेटिएका ती भूभागमा भने गणना नगर्ने भएको हो।
विभागका महानिर्देशक नेबललाल श्रेष्ठले सो भूभागमा जनगणना गर्नु संवेदनशील रहेकाले विभाग एक्लैले गणना गर्न नसक्ने जनाए।
प्रतिक्रिया लेख्नुहोस्:-