काठमाण्डौ – काठमाण्डाैको पुरानो बानेश्वरमा रहेको मात्रिका आँखा अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ परेका छन् । अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्ने धादिङका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाका अम्मरबहादुर रोकालाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले तीन करोड रुपैयाँ नदिए घर र अस्पताल बमले ध्वस्त बनाउने धम्की दिँदै अस्पतालमा नक्कली बम समेत राखेका थिए । उनीहरूविरुद्ध आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गएकाे भदाै २४ गते बिहीवार बिहान काठमाण्डाै महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मात्रिका आई सेन्टरको तेस्रो तलामा रहेकाे शौचालयभित्र शङ्कास्पद वस्तु भेटिएकाे थियाे । त्याे शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराउँदै बम नभएकाे पुष्टि गरेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-