काठमाडौं । भारतमा हुने ग्राम पञ्चायतको चुनावलाई लक्ष्य गरेर नेपाल-भारत सीमा सील गरिने भएको छ । जनकपुरमा आज बसेको दुई मुलुकका सुरक्षा अधिकारीहरु सम्मिलित बैठकले सीमा सील गर्ने निर्णय गरेको हो । सेप्टेम्बर २९ देखि नेपाल सीमावर्ती भारतको बिहार राज्यमा ग्रामपञ्चायत चुनाव हुँदै छ । उक्त छलफलले चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नेपाल-भारतको सीमा नाका सील गर्ने निर्णय गरेको हो । भारतीय सुरक्षाकर्मीले चुनावलाई निष्पक्ष, तटस्थ तथा धाँधलीरहित बनाउन भन्दै नेपालबाट सहयोग मागेका थिए । बिहारमा विभिन्न ११ चरणमा चुनाब हुँदैछ ।
सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागूऔषधको ओसारपोसार हुने गरेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाई नेपाली अधिकारीले ध्यानाकर्षण गराएको धनुषाका सीडीओ बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।
सो द्धिपक्षीय बैठकमा अवैध सामान ओसारपोसारमा कडाइ गर्ने विषयमा समेत छलफल भएको थियो । बैठकमा भारतको मधुबनी जिल्लासँग जोडिएका धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी उपरीक्षक, शसस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा भारतका तर्फबाट बिहार दरभंगाका डिभिजनल कमीसनर मनिषकुमार, मधुबन्नी जिल्लाका डिएम अमित कुमार लगायत सहभागि थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-