काठमाडौँ । ‘गेट अफ हेल’ अर्थात् ‘नर्कको द्वार’ भनेर चिनिले एउटा रहस्यमय गुफाको अनुसन्धान थालिएको छ । नर्कको इनार पनि भनिने यो गहिरो गुफा यमनमा रहेको छ । यसभित्र त्यस्तो रहस्य के छ भनी पत्ता लगाउन पहिलोपल्ट एउटा अध्ययन टोली गुफाभित्र पसेको छ ।
प्राकृतिक आश्चर्यका रूपमा लिइँदै आएको यो गुफा करिब ३० मिटर चौडा र ११२ मिटर गहिरो छ । स्थानीय मानिसहरु लामो समयदेखि यो गुफाबाट टाढा रहँदै आएका थिए । यसको मुख सानो छ भने भित्र फराकिलो छ । र फेदमा पानी चुहिरहने, मोती बनिरहने देखिएको छ ।
बिबिसीका अनुसार सदियौँदेखि यस गुफाले कुनै पनि इच्छा पूरा गरिदिनसक्ने शक्ति भएको ‘जीनी’ भनिने लोककथाको काल्पनिक पात्रलाई आश्रय दिँदै आएको किंवदन्ती रहेको छ । यसलाई स्थानीयहरुले कुवामा बस्ने जीनीहरु अर्थात् भूतहरुको घर (जेल) का रुपमा समेत वर्णन गर्ने गरेका छन् ।
धेरै स्थानीयहरु यस विशाल गुफाको भ्रमण तथा अवलोकन गर्न डराउँछन् । यसको बारेमा कुरा गरिरहेको अवस्थामा मात्र पनि यसले दुर्भाग्य निम्त्याउँछ भन्ने उनीहरु मान्दछन् । र गुफामा दुष्ट आत्माहरुको उपस्थिति हुने बारेमा कथाहरु बुनिएका छन् । यसको गहिराई बाट उठेको दुर्गन्ध र विषाक्त गन्धहरुका कारण उक्त कथाहरु र डरलाई बल दिएको पाइन्छ ।
तर ओमान गुफा अन्वेषण टोलीका गोताखोरहरूले भने त्यस्तो कथामा भनिएजस्तो अलौकिक संकेत केही पनि फेला पारेनन् । बरु त्यहाँ भित्र सर्पहरु, मृत जनावर र मोती पत्ता लगाएका छन् । पानी चुहिरहने र जनावहरु कुहिएको अवस्थामा गन्ध आइरहने हुनसक्ने बताइएाके छ ।
ओमानस्थित जर्मन युनिभर्सिटी अफ टेक्नोलोजीका भूविज्ञानका प्राध्यापक मोहम्मद अल किन्डीले भने, ‘त्यहाँ सर्पहरु थिए, तर तिनले कसैलाई दुःख दिदैनन्।’ अध्ययन टोलीले गुफामा स्ट्यालग्माइटस नामक तत्व र गुफामुनि मोती फेला पारेका छन्, जुन तपतप झर्ने पानीबाट बन्छ ।
आठजना गुफाअनुभवीमध्येका एक किन्डी, जसले गत हप्ता मात्रै उक्त गुफाभित्र प्रवेश गरर अनुभव सँगालेका थिए । उनले यस गुफालाई प्राकृतिक आश्चर्यको र यमनको इतिहासको एक हिस्सा रहेको बताएका छन् ।
‘हामीले गुफाबाट पानी, ढूंगा, माटो र केही मरेका जनावरहरुको नमूना संकलन गरेका थियौं, तर तिनीहरुको अहिलेसम्म विश्लेषण गरेका छैनौं,’ उनले भने, ‘त्यहाँ मरेका चराहरु थिए, जसले केहि नराम्रो गन्ध उत्पन्न गर्दछन्, तर त्यहाँ अरु कुनै दुर्गन्ध थिएन ।’
अध्ययन जारी रहेकाले यसबारे केही ठोस निष्कर्ष निस्किनेमा उनीहरु आशावादी छन् । संकलित नमुनाहरुको गहिरो अध्ययनपश्चात थप रहस्यहरु पत्ता लाग्ने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-