काठमाडौं। ब्राजिलकी ८ वर्षकी बालिका निकोल ओलिभेरिया संसारकै सबैभन्दा कम उमेरकी एस्ट्रोनोमर बनेकी छिन् । ओलिभेरियाले अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग सम्बद्ध कायृक्रमको हिस्साको रुपमा छुद्रग्रहहरुको खोजी गरिरहेकी छिन् । ओलिभेरिया अन्तर्राष्ट्रिय सेमिनारहरुमा भाग लिन्छिन् र आफ्नो देशका शीर्ष अन्तरिक्ष र विज्ञान क्षेत्रका हस्तीहरुसँग बैठकमा सहभागी हुन्छिन् ।
यो परियोजनाको नाम एस्टोरोइड हन्टर हो । यो कार्यक्रम युवा वैज्ञानिकहरुलाई अवसर दिनको लागि बनाइएको हो ताकि युवा वैज्ञानिकहरुले अन्तरिक्ष सम्बन्धी नयाँ खोजी गर्न सकुन् । आफ्नो युट्युब च्यानलमा ओलिभेरियाले ब्राजिलियन खगोलशास्त्री डुइलिया डिमेलो जस्ता प्रभावशाली हस्तीसँग साक्षात्कार गरेकी छिन् । डिमेलोले डिएन १९९७ डी नामको एक सुपरनोभाको खोजीमा भाग लिएका थिए ।
गत वर्ष ओलिभेरियाले विज्ञान मन्त्रीको साथमा अन्तरिक्ष यात्री मार्कोस पोन्टेससँग भेटवार्ता गर्नको लागि ब्रासिलियाको यात्रा गरेकी थिइन् । पोन्टेस अन्तरिक्षमा जाने एक मात्र ब्राजिलियन हुन् । समाचार एजेन्सी एएफपीका अनुसार निकोलले आफू एयरोस्पेस इन्जिनियर बन्न चाहेको बताएकी छिन् । निकोलका अनुसार उनी रकेट बनाउन चाहन्छिन् । उनले भनिन् ‘म फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टर जान चाहन्छु र त्यहाँका रकेट हेर्न चाहन्छु । म यो पनि चाहन्छु कि ब्राजिलमा सबै बालबालिकाहरु विज्ञानसम्म पुग्न सकुन् ।’
नासाको एस्टोरोइड हन्टर कार्यक्रममा आबद्ध भएकी निकोलले आफ्नो वैज्ञानिक कौशलको प्रयोग गरेर अहिलेसम्म १८ वटा अन्तरिक्ष चट्टानको खोजी गरिसकेकी छिन् । आफ्नो यो कामको लागि उनले विश्वभरी ख्याती कमाएकी छिन् । नासाले आफ्नो एस्टोरोइड हन्टर कार्यक्रममा बालबालिका र किशोरकिशोरीलाई जोडेर उनीहरुको वैज्ञानिक कौशललाई निखार्ने काम गर्छ ताकि उनीहरुले अन्तरिक्षको क्षेत्रमा काम गर्ने अवसर पाउन् र अझै राम्रो काम गर्न सकुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-