झन्डै ६ महिनापछि यातायात व्यवस्था विभागले गत सोमबारदेखि स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलायो। तर आवेदन खुलाएको चार दिनमै प्राविधिक समस्या देखाउँदै बन्द भयो। बिहीबार साँझदेखि अनलाइन आवेदन प्रणाली बन्द छ। प्राविधिक समस्या भएको कारण ठ्याक्कै यही समयमा सेवा पुनः सुरू गर्छौं भन्न सकिने अवस्था पनि नरहेको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन्।
‘आज दिउँसो एकैछिन सिस्टम पुनः सुरू भएको थियो। तर फेरि समस्या देखिएको छ। त्यसैले अझै समस्या समाधान भएको छैन,’ भुसालले भने, ‘छिट्टै समस्या सुल्झाउने हिसाबमा प्राविधिक टोलीबाट काम हुँदैछ।’
प्रवक्ता भुसालका अनुसार झन्डै चार दिन खुला हुँदा कति आवेदन आयो भन्ने तथ्यांक निकाल्न पनि समस्या भएको छ। सिस्टममा समस्या भएपछि तथ्यांक निकाल्न समस्या भएको उनी बताउँछन्।
आफ्नो आवेदन परेको–नपरेको भन्ने डर हुने सेवाग्राहीको चासोमा उनी भन्छन्, ‘सफलतापूर्वक फारम भरेर पेश गरिएका आवेदनको तथ्यांक सुरक्षित छ। तथ्यांक ब्याकअपमा पनि बस्छ। र, परीक्षा तोकिएको मितिमै हुनेछ।’
नयाँ आवेदन भर्ने सिस्टममा यसअघि पनि यस्तो प्राविधिक समस्या देखिएको थियो। एकैपटकमा धेरैले सिस्टममा जान खोज्दा समस्या देखिने प्रवक्ता बताउँछन्। सोही समस्याको समाधानमा प्राविधिक टोलीले काम गर्दैछ।
नयाँ आवेदनका लागि फारम भर्न सम्भव नभए पनि यतिबेला पुरानै ट्रायल दिन बाँकीको परीक्षा हुँदैछ। काठमाडौं उपत्यकाभित्र मात्रै झन्डै चार लाखको ट्रायल परीक्षा हुन बाँकी छ। विभागले ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-