काठमाडौं। पृथ्वीमा करोडौं वर्ष पहिले विशालकाय डायनोसोरले राज गर्थे तर एउटा विशाल उल्कापिण्डको टक्करले यो जीवको अन्त्य भयो । अहिले ल्याटिन अमेरिकी देश अर्जेन्टिनामा डायनोसोरका १०० भन्दा धेरै अण्डा भेटिएका छन् । यी प्राचीन अण्डा अर्जेन्टिनाको डायनोसोरको एक चिहानमा भेटिएका हुन् । यी अण्डाहरुबाट अब विश्वमा पहिलो पटक डायनोसोर झुण्डमा बस्ने व्यवहारको खुलासा भएको छ । यी अण्डाहरुभित्र अहिले पनि भ्रुण छन् ।
यी अण्डाहरुको स्क्यानपछि सबै अण्डा डायनोसोरको एउटै प्रजातिका भएको खुलासा भएको छ । यो प्रजातिको नाम मुसाउरस प्याटागोनिसस थियो । लामो घाँटी हुने यी डायनोसोर शाकाहारी थिए । अहिले फेला परेको टायनोसोरको गुँड १९ करोड ३० लाख वर्ष पुरानो भएको बताइएको छ । यी अण्डाहरुबाट अब जीवाश्मविज्ञानीहरुले सुरुवाती डायनोसोरका प्रजातिबारे जानकारी हासिल गर्न सक्नेछन् ।
यी अण्डाहरु ८ वटादेखि ३० वटासम्मका समूहमा भेटिएका छन् । जसबाट यी जनावर गुँडमा बस्थे र यो उनीहरुको बच्चा जन्माउने साझा स्थल थियो भन्ने खुलासा भएको छ । वैज्ञानिकहरुले टायनोसोरका कंकाल पनि फेला पारेका छन् । यी प्रमाणबाट डायनोसोर समूहमा बस्थे भन्ने खुलासा भएको छ । शोधकर्ता डिआगो पोलले भने ‘म यो ठाउँमा एउटा सुन्दर डायनोसोरको कंकालको लागि गएको थिएँ । हामीले त्यहाँ ८० कंकाल र १०० भन्दा धेरै अण्डा फेला पारेका छौं । यी अण्डामध्ये केहीभित्र भ्रुण पनि बन्द छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-