जेनेभा । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन हालसम्म ५७ वटा देशमा फेला परिसकेको छ । यसैकारण अब बिस्तारै यो फैलदै जाँदा अस्पतालहरु भरिन थाल्ने विश्व स्वास्थ्य संगठनले बुधबार चेतावनी दिएको छ ।
साम्ताहिक रिपोर्टमा डब्लूएचओले ओमिक्रोनका कारण गम्भीर बिरामी पर्न सकिनेबारे चाहिँ थप डाटा आवश्यक रहेको बताएको छ । यसको म्युटेसनले खोपबाट प्राप्त सुरक्षालाई कसरी प्रभाव पार्छ भन्ने अझै स्पष्ट नभएको पनि बताइएको छ ।
डब्लूएचओको बयान यस्तो छ, “यसको असर डेल्टा बराबर या त्यो भन्दा कम भएपनि संक्रमण फैलिएपछि यसले अवश्य नै आगामी दिनहरुमा अस्पताल भर्ना हुने क्रम बढाइदिनेछ । ” २६ नोभेम्बरमा डब्लूएचओले ओमिक्रोन भेरियेन्टलाई चिन्ताजनक घोषणा गरेको थियो । चिन्ताजनक मानिएको यो पाचौँ भेरियेन्ट हो ।
यसरी दक्षिण अफ्रिकामा डिसेम्बर ५ सम्म मात्र संक्रमण सङ्ख्या दुई हप्ताले बढेर ६२ हजार भन्दा धेरै पुगेको हो । इस्वातिनी, जिम्बावे, मोजाम्बिक, नामिबिया र लेसोथो सबैतिर यस किसिमको वृद्धि देखा परिरहेको छ ।
यसअघिको अध्ययनमा ओमिक्रोनमा भएको म्युटेसनले खोपबाट प्राप्त एन्टिबडिजलाई निर्मुल पारिदिन सक्ने देखिएको थियो जसले हाम्रो इम्युनिटी घटाइदिने जोखिम हुन्छ । तर अझैपनि खोपको प्रभावकारीतामा यसले पार्ने असरबारे स्पष्ट जानकारी प्राप्त नभइसकेको बताइएको छ । अहिलेसम्मको रिसर्चमा ओमिक्रोन भेरियेन्टले फाइजर खोपका दुई डोजबाट प्राप्त सुरक्षालाई आंशिक रुपमा छल्न सक्ने पत्ता लागेको छ । रोयटर्सबाट
प्रतिक्रिया लेख्नुहोस्:-