काठमाडौं। स्वेडेन नजिकै बाल्टिक सागरमा २ मालवाहक जहाज आपसमा ठोक्किएका छन् । यो दुर्घटनामा ठोक्किएका २ मध्ये एउटा जहाज पल्टिएको छ । दुर्घटनापछि यहाँ ठूलो उद्धार अभियान चलाइएको छ ।
स्वेडेनको मेरिटाइम एडमिनिस्ट्रेसनका अनुसार सोमबार बिहान भएको यो घटनामा कम्तीमा २ जना पानीमा डुबेको आशंका छ । पानीमा पल्टिएको जहाज करिन होज डेनमार्कमा सूचिकृत छ । अर्को जहाजको नाम स्कट करियर हो । एसएमएका प्रवक्ता जोनस फ्रेजेनका अनुसार पानीबाट मानिसले चिच्याएको आवाज सुनिएको सूचना प्राप्त भएको छ ।
एक स्थानीय च्यानलसँग कुरा गर्दै उनले भने ‘हामीले अहिलेसम्म कसैलाई फेला पारेका छैनौं । तर, हामीले गोताखोरहरुको लागि अनुरोध गरेका छौं । धेरै अँध्यारो छ र पानी धेरै चिसो छ ।’ जहाजहरुको ठक्करको रिपोर्ट स्थानीय समयअनुसार बिहान करिब पौने ५ बजे आएको थियो । यो दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-