त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ ।
मौसम खराबीका कारण आज बिहान जहाज अवतरण गर्न नसकेपछि १२ लाख एक हजार ८८७ मात्रा खोप फिर्ता भएको हो । सरकारले एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप ल्याउन लागेको थियो ।
आज विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
सरकारले आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेको छ । कोभ्याक्स सुविधा अन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताए। नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-