काठमाडौं । साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई नेपाल प्रहरीले दुबईबाट काठमाडौ ल्याएको छ । इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका उप्रेतीलाई मंगलबार काठमाडौ ल्याएको हो ।
प्रहरीले दुबईबाट डिपोर्ट गरेको हो भन्ने नचाहेकै कारण उनको पक्राउलाई हाल गोप्य राखेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर गौशला प्रहरी वृत्तमा राखिएको छ ।
उनलाई बुधबार विराटनगर पठाउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार अभियुक्त हुन् ।
प्रहरीले गोरेलाई पक्राउ गरेपनि उनको भाइलाई भने पक्राउ गर्न सकेको थिएन । साढे ३३ किलो सुन तस्करीका सबै अभियुक्तहरुले सफाई पाएका बेलामा प्रहरीले उनलाई दुबईबाट काठमाडौ ल्याएको हो ।
२०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समुहले दुबईबाट ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि लुटपाट भएको थियो । ३३ किलो किलो सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या भएपछि मात्रै सो घट्ना बाहिर आएको थियो ।
त्यसबारे सरकारले तत्कालिन गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-