टोक्यो । जापानमा एक महिलाले आफूलाई गर्भवती बन्न सहयोग गर्ने वीर्यदाता पुरुषविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी छन् । ती महिलाले वीर्यदाताले आफ्नो सामाजिक प्रतिष्ठा, शैक्षिक पृष्ठभूमि र जातीयताबारे झुटो बोलेको आरोप लगाएकी छन् ।
परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ । तर, मेरो पतिको आनुवंशिक समस्या भएको चाल पाएपछि हामी चिन्तामा पर्यौँ ।’ त्यसपछि यस दम्पतीले वीर्यदाताको खोजी गर्न थाले ।
सामाजिक सञ्जालमार्फत उनीहरूले जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयबाट स्नातक गरेको बताइएका एक २० वर्षीय वीर्यदाता युवक भेट्टाए । उनले आफूलाई अविवाहित जापानी नागरिक भनेर चिनाएका थिए ।
ती युवकसँग करिब १० चोटि यौनसम्पर्क राखेपछि उनी अन्तत सन् २०१९ को जुनमा गर्भवती बन्न सफल भइन् । तर, पछि उनले ती युवक जापानी नभई एक विवाहित चिनियाँ भएको र उनले कहिल्यै क्योटो विश्वविद्यालयमा पनि नपढेको तथ्य फेला पारिन् । बच्चा जन्माइसकेपछि यस दम्पतीले बच्चालाई अस्वीकार गरे । अहिले त्यस बच्चालाई टोक्योस्थित एउटा शिशु स्याहार केन्द्रमा राखिएको छ ।
ती महिलाले उनले आफूसँग यौनसम्पर्क राख्न झुटो विवरणको सहारा लिएको बताएकी छन् । साथै, उनले आफूलाई भावनात्मक चोट पुर्याएबापत ती युवकसँग करिब २८ लाख अमेरिकी डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन् ।
जापानको ‘थाहा पाउने अधिकार’ कानुनानुसार वीर्यदाताले जैविक अभिभावकहरूलाई चिन्ने अधिकार छ । तर, वीर्यदान मामिलामा अनावश्यक झैझमेलाहरू आइपर्ने डरले अधिकांश वीयर्दाता भने आफ्नो परिचय गोप्यै राख्न रुचाउँछन् ।
जापानमा सामाजिक सञ्जालमार्फत वीर्यदाता खोज्ने दम्पतीको संख्या बढ्दै गएको छ । अहिलेसम्म १० हजार बालबालिकाको वीर्यदानकै सहयोगमा जन्म भइसकेको सरकारी तथ्यांक छ ।












प्रतिक्रिया लेख्नुहोस्:-