अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन्। अधिवक्ता खतिवडाले १७ वर्षिया पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने भएकी हुन्। १८ वर्षमुनिका पीडित बालिकाको सहमतिमा पनि करणी गर्न मिल्दैन भन्ने कानुनी व्यवस्थालाई सबैले हेक्का राख्न उनले सुझाएकी छिन्।
‘हिजो एक १७ वर्षिया यौनजन्य हिंसाबाट पीडित किशोरीसँग कुरा भयो। निज पीडित किशोरीले उनको पक्षमा कानुनी लडाइँमा सहयोग गर्न अनुरोध गरिन् मैले हुन्छ भनेकी छु। १८ वर्षमुनिका बालबालिका र १८ वर्ष कटेका बालिग मानिसका बीचमा कानुनमा ठूलो अन्तर छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हरेक बालबालिका कसैका छोराछोरी मात्र होइनन्, उनीहरू समाजका छोराछोरी हुन्। बालिकामाथिको बलात्कार भनेको सभ्य समाजको निम्ति लज्जाको विषय हो। बालिकालाई समाजका दानवरूपी पुरुषबाट जोगाउन दिन दिनै जटिल बन्दै गएको छ।’
अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा बोल्नुअघि विचार गर्न आग्रह गर्दै पीडित बालिका र अभिनेता पलबीचको विषयलाई सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाले त्यस्ता गतिविधिहरु गरेर स्वतन्त्र अनुसन्धानमा बाधा नगर्न समेत सबैलाई आग्रह गरेकी छन्।
म्युजिक भिडियो सुटिङका क्रममा अभिनेता पलविक्रम शाहले पीडित बालिकामाथि पटक–पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको कसुरमा शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता समेत भएको छ। पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता गराएका हुन्।
अधिवक्ता खतिवडा केही समय अगाडि बाराका उमाशंकर रायभरलाई न्याय दिलाएपछि चर्चामा आएकी थिइन्। उनले रायभरको पक्षमा वकालत गरेर निर्दोष रायभरलाई न्याय दिलाउन सफल भएकी थिइन्।
प्रतिक्रिया लेख्नुहोस्:-