अभिनेता श्यामकुमार मिश्र सवारी दुर्घटनामा परेर गम्भिर घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट विजयनगर फर्किने क्रममा मंगलबार मध्यान्ह उनी आफै सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका हुन् । दुर्घटनामा मिश्रको दुबै खुट्टा, हात र ढाड भाँचिनुका साथै शरिरका विभिन्न स्थानमा चोटपटक लागेको छ ।
विजयनगर हाइवेमा रहेको प्रहरी चौकी नजिकैको पोखरीमा लडेको अवस्था रहेका उनलाई गाउँलेले फेला पारेर नजिकको मेडिकलमा पुर्याएका थिए । मेडिकलमा पुर्याएको केही घण्टापछि मात्र होस खुलेका मिश्र बुधबारबाट बोल्न र मान्छे चिन्न थालेका छन् ।
‘मलाई गाउँलेले पोखरीमा अचेत अवस्थामा भेटाएर नजिकैको मेडिकलमा पुर्याएका रहेछन्’ मिश्रले भने ‘मेडिकल पुर्याएको ४ घण्टापछि होस आएको रहेछ ।’ आज बिहानबाट थोरै बोल्न सक्ने भएको बताएका मिश्रले मान्छे चिन्न अझै गाहे भएको सुनाए ।
‘मेरो दुबै खुट्टा, एक हात र घाँटीको पछाडिको भाग भाँचिएको छ’ मिश्रले थपे, ‘यहाँ राम्रो उपचार गर्ने ठाउँ छैन । भारत जाने तयारीमा छु ।’ बिहीबार भारतको लखनौ गएर थप उपचार गर्ने तयारी भइरहेको बताएका मिश्रले आफुलाई अस्पताल पुर्याउनेलाई धन्यवाद दिए ।
दुर्घटनामा मिश्रले टाउकोमा लगाएको हेलमेट टुक्रा टुक्रा भएको छ । मोटरसाइकलको पाटपुर्जा समेत छरिएको अवस्थामा प्रहरीले भेटाएको परिवारले जनाएको छ । नालायक, देउता, ब्वाइफ्रेण्ड लगायत आधा दर्जन बढी नेपाली फिल्म अभिनय गरेका मिश्रले भोजपुरी र नेपाली गरेर दर्जन बढी गीत गाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-