काठमाडौं। पछिल्लो समय एक पोर्न वेबसाइटमा देखाइएको एक विज्ञापनलाई मानिसहरुले व्यापक रुपमा पच्छ्याउन थालेका छन् । भाइस इण्डियाको रिपोर्टअनुसार एक चर्चित पोर्न वेबसाइटमा देखाइएको विज्ञापनमा एप्पल साइडर भिनेगर गुप्तांगमा हाल्दा गुप्तांगको लम्बाइ ६५ प्रतिशतसम्म बढाउन सकिने दावी गरिएको छ । यो वेबसाइटमा यो विज्ञापनका तीन संस्करण देखाइएका छन् । तर, डाक्टरहरुले भने यसो गर्नु निकै खतरनाक हुन सक्ने चेतावनी दिएका छन् ।
हेल्थ स्पानकी मेडिकल निर्देशक डा. सारा ब्रुवरले बेलायती अखबार द सनसँग कुरा गर्दै अनलाइनमा यस्ता कैयौं उत्पादनहरुले पुरुषको गुप्तांगको लम्बाइ बढाउन सक्ने दावी गर्ने भए पनि खासमा ती कम्पनीले पुरुषहरुको असुरक्षाको फाइदा उठाउने बताइन् । यी कम्पनीहरु आफ्नो मार्केटिङको सहारामा मानिसहरुको भावनासँग खेल्ने तर यी उत्पादनबाट कुनै फाइदा नहुने बताइन् । डा. साराले कुनै क्रिम लगाउने वा कुनै हर्बल सप्लिमेन्टबाट गुप्तांगको लम्बाइ बढाउन सकिन्छ भन्ने कुनै प्रमाण नभएको बताइन् ।
डा. साराका अनुसार एप्पल साइडर भिनेगर अम्लीय हुन्छ र यसको प्रयोगबाट जलन र सुन्निने समस्या हुन सक्छ त्यसैले यसलाई संवेदनशील अंगमा लगाउनु हुँदैन । तर, एप्पल साइडर भिनेगरका विषयमा हल्ला भने चल्दै आएका छन् । यसअघि इरेक्टाइल डिस्फंक्सनको समाधानको उपाय भनेर पनि एप्पल साइडर भिनेगरको प्रचार गरिएको थियो । त्यतिबेला एप्पल साइडर भिनेगरको प्रयोग गरेर इरेक्टाइल डिस्फंक्सनको उपचार गर्न सकिने दावी गरिएको थियो ।
मेडिकल न्यूज टुडेका अनुसार त्यतिबेला यस्तो दावी गरिएको भए पनि यो अध्ययन निकै कम नमूनाको साथमा गरिएको थियो र धेरैजसो नतिजा गलत आएका थिए किनकि इरेक्टाइल डिस्फंक्सन जटिल कारणले हुन्छ जुन बेचैनी र तनाव जस्ता कारण पनि हुन् त्यसैले एप्पल साइडर भिनेगर यी समस्याको समाधानमा प्रभावी छैन । डा. साराले यदि कुनै व्यक्तिलाई गुप्तांगसम्बनधी समस्या भएमा विशेषज्ञकहाँ जान सुझाव दिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-