काठमाडौं – सरकारले भोलि पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान एक साताका लागि स्थगित हुने भएको छ ।
खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभाव भएका कारण सो अभियान एक साता पछि सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले ३ वटा प्रदेशका ८ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप अभियान चलाउने घोषणासहित तालिका सार्वजनिक गरेको थियो ।
ती ८ वटा जिल्लाहरूमा उपत्यकासहित वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेका छन् ।
त्यसै गरी मन्त्रालयले माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । ८ जिल्लाबाहेक प्रदेश–१ को झापा, मोरङ र सुनसरी, २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र वाग्लुङ, लुम्बिनी प्रदेशको रूपन्देही र दाङ तथा सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप लगाउने सरकारको तयारी थियो । मन्त्रालयले गत पुस ४ गतेदेखि ७ प्रदेशका ५७ वटा जिल्लामा मोडर्ना खोप लगाउने काम भने जारी राखेको छ ।
मन्त्रालयले उपत्यकालगायत फाइजर खोप दिने सबै जिल्लामा अन्तिम तयारी भइसक्दासमेत अभियान स्थगित भएको जानकारी दिएको छैन । मन्त्रालयले भोलिबाट शुरू हुने अभियानका लागि स्थानीय तहअन्तर्गतको शिक्षा विभाग र शाखालाई विद्यार्थीको संख्याको आधारमा राखिने खोप केन्द्रको तयारी गर्न आग्रह गरेको थियो ।
सोहीअनुसार काठमाडौं महानगरपालिका शिक्षा विभागले करिब १ लाख विद्यार्थीलाई खोप लगाउने गरी केन्द्र तय गरेर मन्त्रालय र जिल्ला जनस्वाथ्य कार्यालयलाई जानकारी गराइसकेका विभागले जनाएको छ ।
खोप अभियानअन्तर्गत २०६१ मंसिरदेखि २०६६ मंसिर सम्ममा जन्मेका बालबालिकाका लागि खोपको व्यवस्था गरिएको छ । १२ वर्षमाथिका दीर्घ रोगीहरूका लागि फाइजर खोप सञ्चालन भएका २० जिल्लामा फाइजर खोप दिने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यसअघि फाइजर खोप दिएका जिल्लामा सोही खोप र अन्यमा मोडर्ना खोप लगाइने जनाएको थियो । मन्त्रालयले थप १२ जिल्लामा दोस्रो चरणको फाइजर खोप अभियान चलाउने भएको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-