काठमाडौं । पछिल्लो एक महिनायता नेपालमा कोभिड–१९ संक्रमण निरन्तर उकालो लागेको छ । पछिल्लो सातायता दैनिक थपिने संक्रमितको संख्या ६ हजारको हाराहारीमा छ ।
अस्पतालमा उपचाररत हुन् वा होम आइसोलेसनमा रहेका संक्रमितहरू, कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भएको हो वा पहिलेकै डेल्टा भेरियन्ट नै हो भन्ने जिज्ञासा धेरैमा देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार नेपालमा हालसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
सरकारले विभिन्न चारवटा प्रयोगशालामार्फत कोभिड–१९ संक्रमण पुष्टि भएका शंकास्पद नमुनाहरूमा जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकानुसार कोभिड संक्रमण पुष्टि भएका नमुनामध्ये २२ प्रतिशतमा एस जिन नेगेटिभ देखिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा अल्फापछि एस जिन नेगेटिभ भएका नमुनाहरू भेटिन छोडेका थिए । एस जिन नेगेटिभ देखिएका नमुनाहरूमा ओमिक्रोन नै हुन सक्ने आशंकामा सरकारले परीक्षण गरिरहेको डा. पौडेल बताउँछन् ।
पछिल्लो समय संक्रमण पुष्टि भएका व्यक्तिहरूका लक्षणका आधारमा विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट भएको आशंका गरी थप परीक्षणका लागि पठाउने गरेका छन् ।
सामान्यतः घाँटी दुख्ने, थकान महसुस हुने, टाउको दुख्ने, शरीर दुख्ने, हल्का सिँगान बग्ने र समय–समयमा बन्द हुनेजस्ता लक्षण देखिएमा ओमिक्रोन संक्रमण हुन सक्ने वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरूमा यस्ता लक्षण बढी देखिने गरेको डा. पुनको भनाइ छ । यद्यपि, भेरियन्टको वास्तविक पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण नै गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
ओमिक्रोनका असर के–के ?
कोभिड–१९ विरुद्धको खोप नलगाएका मानिसमा ओमिक्रोन संक्रमण हुने सम्भावना खोप लगाएका व्यक्तिमा भन्दा १० गुणा बढी हुने पाइएको छ । त्यस्तै, खोप नलगाएका ओमिक्रोन संक्रमितहरूमा खोप लगाएकाभन्दा अस्पताल भर्ना हुने सम्भावना १७ प्रतिशत र मृत्यु हुने सम्भावना २० गुणा बढी रहने पनि विज्ञहरूले बताएका छन् ।
संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला अहिले नेपालमा ओमिक्रोनकै कारण संक्रमण फैलिरहेको हुन सक्ने भन्दै एकजना ओमिक्रोन संक्रमितले १० जनालाई सारिरहेको बताउँछन् । ओमिक्रोन भेरियन्ट समुदायमा फैलिए डेल्टाले भन्दा उच्च संक्रमण गराउन सक्ने उनको भनाइ छ ।
डा. कोइरालाका अनुसार ओमिक्रोन संक्रमणले माथिल्लो श्वासप्रश्वास प्रणालीमा असर पुर्याउने हुन्छ । डेल्टा भेरियन्टजस्तो यसले सिधै फोक्सोमा आक्रमण भने नगर्ने उनी बताउँछन् । यसअघिको डेल्टा भेरियन्टले चारदेखि पाँचजनालाई संक्रमण सार्ने देखिएको थियो भने ओमिक्रोन संक्रमितले १० जनासम्मलाई सार्न सक्ने देखिएको उनले बताए ।
कसरी बच्ने ?
कोभिड–१९ को जुनसुकै भेरियन्ट आए पनि त्यसबाट बच्ने मुख्य उपाय भनेकै जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै भएको विज्ञहरू बताउँछन् । कोभिड–१९ का अहिलेसम्म देखिएका सबै भेरियन्टको सर्ने प्रक्रिया उस्तै भएकाले भौतिक दूरी कायम गर्न, सही तरिकाले मास्क लगाउन र सरकारले जारी गरेका मापदण्डको सही पालना गर्न सुझाव दिन्छन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड कन्सल्टेन्ट डा. विमल चालिसे । त्यस्तै, संक्रमणको शंका लागेमा तुरुन्तै परीक्षण गर्न, अरूबाट छुट्टै बस्न र निको नहुन्जेलसम्म अरूसँग नभेट्न डा. चालिसे सुझाव दिन्छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-